काठमाडौं । जेमिमाह रोड्रिग्वेजको शतकप्रेरित भारत साविक विजेता अस्ट्रेलियविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
भारत तेस्रो पटक फाइनल पुगेको हो । यसअघि टोलीले सन् २००५ र २०१७ को फाइनल खेलेको थियो ।
नवी मुम्बईस्थित डा. डिवाइ पाटिल स्पोर्टस एकेडेमीमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि रोड्रिग्वेजले १३४ बलमा १४ चौकाको मद्दतले अविजित १२७ रनको योदान गरिन् । यसैगरी कप्तान हरमनप्रित कौरले ८८ बलमा १० चौका र दुई छक्कासहित ८९, ऋचा घोषले २६, स्मृति मन्धना र दिप्ति शर्माले समानले २४, अमनजोत कौरले अविजित १५ र शफाली वर्माले १० रन बनाए ।
अस्ट्रेलियाका लागि किम गार्थ र एनाबेल सदरल्यान्डले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि फोबी लिचफिल्डले ९३ बलमा १७ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११९ रनको योगदान गरिन् । एलिस पेरीले ८८ बलमा ६ चौका र दुई छक्कासहित ७७ रन बनाइन् ।
यसैगरी एश्लेघ गार्डनर ४५ बलमा समान चार चौका र छक्काको मद्दतले ६३, वेथ मोनीले २४, किम गार्थले १७ र ताहलिया म्याकग्रथले १२ रन जोडे ।
भारतका लागि श्री चरानी र दिप्ति शर्माले समान दुई तथाअमनजोत कौर, क्रान्ति गौड र राधा यादवले समान एक विकेट लिए ।
भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिका इङ्ल्यान्डलाई हराउँदै उपाधि निजक पुगेको हो ।
 
  
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 