काठमाडौं । चितवन राइनाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि युगान्डाका अलराउन्डर अल्पेश रामजानीलाई अनुबन्ध गरेको छ ।
चितवनले बिहीबार सामाजिक सञ्जालमार्फत चौथो विदेशी खेलाडीका रूपमा रामजानीलाई भित्र्याएको जानकारी दियो ।
यसअघि इङ्ल्यान्डका डेविड मलानलाई भित्र्याएकाे चितवनले इङ्ल्यान्डका रवि बोपारा र पाकिस्तानका सोहेल तान्वीरलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
अल्पेशले ६५ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पाँच अर्धशतकसहित ८५० रन प्रहार गरेका छन् । यसैगरी उनको नाममा १०२ अन्तर्राष्ट्रिय विकेट पनि छ ।
कुशल मल्ल मार्की रहेको चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला र दीपक बोहरा र गौतम केसीलाई रिटेन गरेको छ ।
यसैगरी कलाम अलीको प्रशिक्षणमा रहेको चितवनले मिनी अक्सनबाट देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि चितवनसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिकाे दाैडमा छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
