काठमाडौं । खेल सुरु भएको दुई मिनेट पनि बित्न नपाउँदै स्ट्राइकर सावित्रा भण्डारीले सुन्दर गोल गर्दा नेपालले त्रीदेशीय प्रतियोगितामा घरेलु टोली भारतविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।
सोमबार सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा जारी प्रतियोगिताको अन्तिम खेलमा सावित्राले सेन्टरब्याक विमला विकको लामो दूरीको पासलाई सदुपयोग गरेकी हुन् ।
सावित्राले सुरुमा छातीबाट बललाई नियन्त्रणमा लिइन् । अनि गोलकिपर इलाङबाम पान्थोइ चानु अगाडि बढेको मौकाको फाइदा उठाउँदै बललाई दोस्रो बारको जाली चुमाइन् ।
खेलको १४औं मिनेटमा भारतले पहिलो खतरा बुन्यो । फरवार्ड स्लीन्डा कोमको पासमा रक्षक रञ्जना चानुले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलकिपर अञ्जना रानामगरले बचाउँदा नेपालले राहतको सास फेरेको थियो ।
निर्धारित हाफ सकिन दुई मिनेट बाँकी छँदा नेपालको गोलमा पान्थोइ चानु बाधक बनिन् । मिडफिल्डर दीपा शाहीले दिएको सुन्दर थ्रु पासलाई सावित्राले सुन्दर तरिकाले नियन्त्रणमा लिएकी थिइन् । तर, दोस्रो बारमा गरेको लोअर प्रहार पान्थोइ चानुले बचाइन् । लगत्तै विमलाले ‘डिफेन्सिभ लाइन’बाट गरेको लामो दूरीको प्रहार पनि पान्थोइ चानुले बचाइन् ।
