काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रालीले नेदरल्यान्ड्सका ओपनर म्याक्स्वेल प्याट्रिक ओ’ डाउडलाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि ओ’ डाउडसँग सम्झौता गरेको जानकारी दिए ।
उनी कर्णाली भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । यसअघि क्लबले स्कटल्यान्डका मार्क वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो ।
‘हामीले ओपनिङ बलियो बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ ।’
कर्णालीले बासिस्टोसँग सम्झौता नवीकरण गर्दा वाट र ओ’ डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।
ओ’ डाउडले नेदरल्यान्ड्सबाट ८७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । जसमा उनले एक शतक र १६ अर्धशतकसहित २ हजार ३०९ रन बनाएका छन् ।
कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज,काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
