काठमाडौं । स्पेनिस ला लिग अन्तर्गत हुने वर्षको पहिलो एल क्लालिसकोमा आइतबार दुई महारथी रियाल मड्रिड र बार्सिलोना प्रतिस्पर्धा गर्दैछन् ।
खेल रियाल मड्रिडको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।
जाभी अलन्सोको नेतृत्वमा रहेको रियाल मड्रिड आठ खेलमा २४ अंकका साथ लिगको शीर्ष स्थानमा छ । टोली बार्सिलोनाविरुद्ध जित निकाल्दै अग्रता फराकिलो बनाउने लक्ष्यमा छ ।
रियाल फ्रेन्च स्टार किलियन एमबाप्पेमै बढी निर्भर रहनेछ । उनले जारी सिजनमा १० गोल गरिसकेका छन् । उनलाई जुड बेलिङघम, भिनिसिय जुनियर जस्ता खेलाडीको साथ रहेनछ ।
रक्षक ड्यानी कार्भहाल, डिन हाउसन र ट्रेन्ट अलेक्सजेन्ड आर्नोल्ड तथा मिडफिल्डर ड्यानी सेबालस टोलीमा फर्किदा रियाललाई केही राहत पुगेको छ । तर उनीहरूले पहिलो रोजाई मै मौका पाउने सम्भावना भने न्युन छ ।
यता हान्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोना पनि रियाललाई उसैको घरेलु मैदानमा स्तब्ध पार्दै शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ ।
युवा फरवार्ड लामिन यामल आजको मुख्य केन्द्रमा हुनेछन् । उनले जारी सिजनमा पाँच खेल खेल्दा चार गोलका लागि अवसर सिर्जना गरेका छन् । उनलाई रोनाल्ड अरौउजो, मार्कस रासफोर्ड, पेड्री जस्ता खेलाडीले साथ दिने छन् ।
राफिन्हाको अनुपस्थितीले बार्सिलोनालाई केही समस्यामा पार्न सक्ने भए पनि फेरान टोरेस र फ्याङ्की डी जोङको आगमनले भने टोलीलाई राहत मिलेको छ ।
रियाल बार्सिलोनासँगको हारको शृंखला अन्त्य गर्ने सोचमा छ । पछिल्लो सिजनका दुवै भेटमा बार्सिलोनाले रियालविरुद्ध जित दर्ता गरेको थियो ।
