काठमाडौं । घरेलु टोली भारतले आइसीसी महिला एकदिवसीय विश्वकपमा बिहीबार न्युजिल्यान्डविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा ५३ रनको जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा रहेको भारत सेमिफाइनलम पुगेकाे छ । पराजित न्युजिल्यान्ड समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ ।
डा. डिवाइ पाटिल स्पोर्ट एकेडेमी मैदानमा वर्षाले प्रभावित खेलमा न्युजिल्यान्डले ४४ ओभरमा ३२५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले पूरै ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २७१ रन मात्रै बनाउन सक्यो ।
न्युजिल्यान्डका लागि ब्रुकी हेलिडेले ८४ बलमा ९ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरिन् । यसैगरी इसाबेला गाजीले ५१ बलमा १० चौकासहित अविजित ६५, एमिलिया केरले ४५, जर्जिया प्लिमरले ३० तथा म्याडी ग्रिन र जेस केरले समान १८ रन बनाए ।
ब्रुकीले छैटौं विकेटका लागि इसाबेलालसँग ७२ र चौथो विकेटका लागि एमिलियासँग ५६ रनको साझेदारी गरेकी थिइन् । यसैगरी दोस्रो विकेटका लागि एमिलिया र जर्जियाबीत ५० रनको साझेदारी भएको थियो ।
भारतका लागि रेनुका सिंह र क्रान्ति गौडले समान दुई तथा स्नेह राना, श्री चरानी, दिप्ति शर्मा र प्रतिका रावलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ४९ ओभरमा तीन विकेट गुमाउँदै ३४० रनको योगफल तयार पारेको थियो ।
भारतका लागि प्रतिका रावलले १३४ बलमा १३ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १२२ रनको योगदान गरिन् । स्मृति मन्धनाले ९५ बलमा १० चौका र चार छक्कासहित १०९ रन बनाइन् ।
यसैगरी जेमिमाह रोड्रिग्वेजले ५५ बलमा ११ चौकाको मद्दतले अविजित ७६ र कप्तान हरमनप्रित कौरले १० रन जोडे ।
प्रतिकाले पहिलो विकेटका लागि स्मृतिसँग २१२ तथा दोस्रो विकेटका लागि जेमिमाहसँग ७६ रनको साझेदारी गरेकी थिइन् ।
न्युजिल्यान्डका लागि रोजमेरी माइर, एमिलिया केर र सुजी बेट्सले समान एक विकेट लिए ।
