काठमाडौं । अफगानिस्तानविरुद्ध ६ विकेटको जित निकाल्दै श्रीलंकाले एसिसी ट्वान्टी-२० एसिया कपमा समूह विजेताका रूपमा सुपर-४ मा पुगेको छ ।
लगातार तेस्रो जितसँगै तीन खेलबा ६ अंक जोडेको श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो । यससँगै समान खेलमा चार अंक जोडेको बंगलादेश पनि उपविजेताका रूपमा अगाडि बढ्यो ।
यता पराजित अगफगानिस्तान तीन खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो । तीनै खेल गुमाएको हङकङ अंकविहिन बन्यो ।
बिहीबार अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा १७० रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ५२ बलमा १० चौकासहित अविजित ७४ रनको योगदान गरे । यसैगरी कुशल परेराले २८, कामिन्दु मेन्डिसले अविजित २६ र कप्तान चरिथ अस्लंकाले १७ रन बनाए ।
पाँचौं विकेटका लागि कुशल र कामिन्दुबीच अविजित ५२ रनको साझेदारी भएको थियो । अफगानिस्तानका लागि मुजिब उर रहमान, अज्मतुल्लाह ओमरजाई, मोहम्मद नबी र नुर अहमदले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो ।
अफगानिस्तानका मोहम्मद नबीले २२ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी इब्राहिम जाद्रन र कप्तान राशिद खानले समान २४, सेदिकुल्लाह अटलले १८ र रहमनुल्लाह गुर्बाजले १५ रन बनाए ।
आठौं विकेटका लागि मोहम्मद र नुर अहमले ५५ रनको साझेदारी गरेका थिए । नुर ६ रनमा अविजित रहे ।
श्रीलंकाका लागि नुवान तुषाराले चार तथा दुस्मन्था चमिरा, डुनिथ वेलालागे र दसुन सनाकाले समान एक विकेट लिए ।