काठमाडौं । एसिसी एसिया कप ट्वान्टी-२० एसिया कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
समूह ‘बी’ अन्तर्गतको खेल अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।
यो समूहमा अघिल्लो दुवै खेल जितेको श्रीलंका चार अंकका साथ शीर्ष स्थानमा छ । यस्तै अफगानिस्तान समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ ।
आजको खेलमा विजयी भए श्रीलंका अपराजित रहँदै समूह विजेताको रुपमा सुपर फोरमा पुग्नेछ । श्रीलंका विजयी हुँदा बंगलादेश पनि चार अंकका साथ सुपर फोरमा पुग्नेछ ।
अन्तिम खेलमा अफगानिस्तान विजयी भएमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तानको समान चार अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहने दुई टोली सुपर ४ मा पुग्नेछन् । हाल श्रीलंकाको नेटरनरेट प्लस १.५४६, बंगलादेशको माइनस ०.२७० र अफगानिस्तानको प्लस २.१५० छ ।
चरिथ अस्लंकाको कप्तानीमा रहेको श्रीलंकालाई पाथुम निसन्का, वानिन्दु हसरंगा, कुशल परेरास्ता खेलाडीको साथ रहनेछ ।
श्रीलंकाले यसअघि बंगलादेशलाई सात र हङकङलाई चार विकेटले पराजित गरेको थियो ।
यता राशिद खानको कप्तानीमा रहेको अफगानिस्तान रहमानुल्लाह गुर्बाज, अज्मतुल्लाह ओमरजाई, नुर अहमदजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।
यसअघि हङकङलाई ९५ रनले हराएको अफगानिस्ताले बंगलादेशसँग आठ रनको हार बेहोरेको थियो ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा श्रीलंका र अफगानिस्तानबीच आठ खेल भएका छन् । जसमा श्रीलंकाले पाँच र अफगानिस्तानले तीन खेल आफ्नो पक्षमा पारेका छन् ।