काठमाडौं । नेक्सोभा स्पोर्टस प्रालिको आयोजनामा सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असार २९ देखि ३२ गतेसम्म हुने भएको छ ।
बुढानिलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्टस पाकएमा हुने प्रतियोगितामा १६ क्लबको सहभागिता रहने आयोजकले बताएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।
सिटी सिपको सहयोगमा नेक्सोभा स्पोर्टसले इन्डोर क्रिकेटको प्रवद्र्धन गर्ने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्रिकेटलाई शहरी जीवनशैलीसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।
इन्डोर क्रिकेट मनसुनमा पनि खेल्न मिल्ने भएकाले यसले राजधानीमा क्रिकेटको माहोललाई जीवितै राख्ने आयोजकले बतायो ।
प्रतियोगिताका लागि खुलारूपमा खेलाडी दर्ता गर्न सकिनेछ । जसमा घरेलु देखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । कूल लागत पाँच लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’लाई विशेष पुरस्कार प्रदान गरिनेछ । विधागततर्फका उत्कृष्ट खेलाडीको हकमा भने आयोजकले पुरस्कार राशी ताकेको छैन ।