काठमाडौं । जुलाई २ लाई विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाउने गरिन्छ तर नेपाली खेल पत्रकारहरूको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ) ले यसपालि भने यो अवसरमा कुनै औपचारिक कार्यक्रम गरेन ।
मञ्चले बुधबार (जुलाई) २ भर्खरै निधन भएका आफ्ना संस्थापक सदस्य क्षितिजअरुण श्रेष्ठलाई समर्पित गरेको थियो । मञ्चले बुधबार त्रिपुरेश्वरस्थित कार्यालयमा शोकसभा गरी उनका परिवारलाई भेटेर हार्दिक समवेदना प्रकट गर्याे । श्रेष्ठको असार ८ मा निधन भएको थियाे ।
कार्यबाहक अध्यक्ष प्रज्वल ओलीको नेतृत्वमा मञ्चका सदस्यहरू शोभा भगवतीस्थित क्रियापुत्री भवन पुगेर स्व.श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।
मञ्चले आन्तरिक रूपमा आफ्ना सदस्य र शुभचिन्तकबाट संकलित रकम तथा मञ्चकोतर्फबाट प्रदान गरिने आर्थिक सहयोग पनि हस्तान्तरण गरिएको थियो । सहयोगका लागि श्रेष्ठकी धर्मपत्नी मञ्जु तुलाधरले आभार व्यक्त गरिन् ।
२०५२ सालमा मञ्च स्थापना गर्ने ११ संस्थापकमध्ये श्रेष्ठ एक थिए । तत्कालीन समयमा फोटो पत्रकारको रूपमा क्रियाशील श्रेष्ठ नेपाल ओलम्पिक संग्रहालयका संस्थापक अध्यक्ष पनि थिए ।