काठमाडौं । फाफ डु प्लेसिसको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको सहज जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै दिल्लीले दुई खेलमा चार अंक जोडेको छ । लगातार दोस्रो पराजय बेहोरेको हैदराबादको पनि तीन खेलबाट दुई अंक छ ।
आइतबार विशाखापट्नमस्थित डिआर वाइएस राजशेखर रेड्डी क्रिकेट मैदानमा हैदराबादले प्रस्तुत गरेको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
दिल्लीका लागि फाफले २७ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी ज्याक फ्रेसर म्याकग्रुकले ३८, अभिषेक पोरेलले अविजित ३४, ट्रिस्टन स्टब्सले अविजित २१ र केएल राहुलले १५ रन बनाए ।
पहिलो विकेटका लागि फाफ र ज्याकले ८१ रनको साझेदारी गरे । हैदराबादका लागि तीन विकेट जिशन अन्सारीले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनको योगफल तयार पारेको ।
हैदराबादका लागि अनिकेत वर्माले ४१ बलमा ६ चौका र पाँच चौकाको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी हेनरिक क्लासनले ३२ र ट्रभिस हेडले २२ रन बनाए ।
पाँचौं विकेटका लागि अनिकेत र हेनरिकले ७७ रनको साझेदारी गरे । दिल्लीका लागि मिचेल स्टार्चले ३.४ ओभरमा ३५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुलदीप यादवले तीन र मोहित शर्माले एक विकेट हात पारे ।