काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिप बुधबारदेखि सुरु हुँदैछ ।
च्यासल रंगशालामा हुने प्रतियोगिताको पाँचौं संस्करणको उद्घाटन खेलमा साबिक विजेता गोर्खाली रग्बी क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।
उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । बुधबारै हुने अर्को खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने छन् ।
बैशाख २ गतेसम्म हुने प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग प्रस्पिर्धा गरेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।
प्रतियोगिताको पुरस्कार राशीमा पनि बृद्धि भएको छ । यस पटक विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ र अन्य सहभागीले पनि प्रमाण पत्र प्राप्त गर्नेछन् ।
गत वर्ष प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डटकम, एसिया रग्बी र नेपाल रग्बी संघको आधिकारिक फेसबुक तथा युट्युब च्यानलबाट हुनेछ ।