काठमाडौं । नेपाल सुपर लिगमा बुधबार धनगढी एफसी र पोखरा थन्डर्स एफसी प्रतिस्पर्धा गर्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । धनगढी तेस्रो र पोखरा चौथो खेल खेल्दैछन् ।
दुई खेलमा चार अंक जोडेको धनगढी चौथो स्थानमा छ । यसअघि बुटवल लुम्बिनी एफसीविरुद्ध जित निकालेको धनगढीले ललितपुर सिटी एफसीसँग बराबरी खेलेको थियो ।
देवेन्द्र तामाङको कप्तानीमा रहेको धनगढी कृतिशरत्न छुन्जु, अहमद हिजाजी, सिर्जियो बार्बोजा, जर्जप्रिन्स कार्की जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।
यता नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा तीन खेलबाट तीन अंकका साथ छैटौं स्थानमा छ । यसअघि चितवन र ललितपुरसँग हार बेहोरेको पोखराले काठमाडौं रेजर्सलाई पराजित गरेको थियो ।
पछिल्लो खेलमा जित निकालेको पोखरा उच्च मनोबलका साथ मैदान उत्रिनेछ । पोखरालाई समीर तामाङ, आयुश घलान, जो आयडु, स्टेफन समीर बिनोङजस्ता खेलाडीको साथ रहनेछ ।
एनएसएलमा यी दुई टोलीबीच हालसम्म तीन खेल भएका छन् । जसमा धनगढीले दुई जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।
पहिलो संस्करणमा धनगढी १-० ले विजयी भएको थियो । दोस्रो संस्करणको लिग चरण दुवै टोलीले १-१ को बराबरी खेलेका थिए । प्ले अफमा भने धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा ४-३ ले निरास बनाएको थियो ।