काठमाडौं । अफगानिस्तान यु-१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको छ ।
यो जित नेपालका लागि सान्त्वना बन्यो । अफगानिस्तानले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो । यसअघि अफिगानिस्तानले १३० र एक रनको जित निकालेको थियो ।
मुलपानी किकेट मैदान (माथिल्लो) मा नेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।
खेल रोकिनुअघि अफगानिस्तानका लागि अजिजउल्लाह मिया खिल १५ रन बनाएर क्रिजमा थिए । यसैगरी फैसल शिनोजादाले १६ रन बनाए ।
नेपालका लागि अपराजित पौडेलले दुई तथा दयानन्द मण्डल, विपिनप्रसाद शर्मा, सन्तोष यादव र अशोक धामीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सोहेल पटेलले ४६, निरजकुमार यादवले ४२, रोशन विश्वकर्माले २८, कप्तान नरेन भट्टले २२ र दर्श सोनारले १० रन बनाए ।
अफगानिस्तानका लागि हाफिज जाद्रनले चार, अब्दुल अजिज र जाइतुल्लाह शहिनले समान दुई तथा रोहुल्लाह अरब र कप्तान महबुब खानले समान एक विकेट लिए ।