काठमाडौं । राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा साबिक विजेता गोर्खाली रग्बी क्लबले विजयी सुरुआत गरेको ।
च्यासल रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेल अन्त्यतिर विवादित बनेको थियो । गोर्खालीले १४-१२ को अग्रता लिएको अवस्थामा विभागीय टोली नेपाल एपिएफ क्लबका खेलाडीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाडेका थिए ।
जसका कारण खेल करिब १५ मिनेट रोकिएको थियो । बारम्बार आग्रह गर्दा पनि एपिएफका खेलाडीले मैदान प्रवेश गर्न नमानेपछि गोर्खालीलाई विजेता घोषणा गरियो ।
१२-०ले पछि परेको अवस्थालाई उल्टाउँदै गोर्खालीले खेलमा अग्रता लिएको थियो । गोर्खालीले समान दुई ट्राइ र कन्भर्जनबाट अंक जोडेको हो ।
एपिएफले दुई ट्राइ र एक कन्भर्जनबाट अंक जोड्यो । टोलीले एक कन्भर्जनलाई भने सदुपयोग गर्न सकेन ।
दिनको दोस्रो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् ।