काठमाडौं । झापा एफसीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार अन्नपूर्ण क्लब (आरसिटी) विरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा सात अंक जोडेको झापा पाँचौं स्थानमा उक्लिएको छ । पराजित आरसिटी समान खेलबाट चार अंकका साथ १२औं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र मनीष लिम्बुले गोल गरे । आरसिटीका लागि प्रज्वल गुरुङले गोल गरे ।
खेलको २०औं मिनेटमा प्रदीपको पेनाल्टी गोलमार्फत झापाले अग्रता लिएको थियो । आरसिटीका सुरज गुरुङले सन्जोग खपांगीमगरलाई लडाएपछि झापाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा मनीषले टोलीको अग्रता दोब्बर बनाए । उनले प्रदीपले उपलब्ध गराएकाे बललाई पाेस्टकाे दिशा दिए ।
प्रज्वलले ५५औं मिनेटमा गोल गर्दै आरसिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर त्यसपछि थप गोल निस्कन सकेन ।