काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई पाँचौं खेलसम्म पनि कायम राखेको छ ।
सिद्धार्थनगर क्रिकेट मैदानमा सोमबार पुलिसले सुदूरपश्चिम प्रदेशविरुद्ध ६१ रनको सहशज जित दर्ता गर्यो ।
जितसँगै पाँच खेलमा १० अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । पराजित सुदूरपश्चि प्रदेश समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।
पुलिसले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमै समेटियो ।
सुदूरश्चिमका लागि शेर मल्लले ३२, मिलन बोहराले २३ र टेक रावले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि ललितनाराण राजवंशीले सात ओभरमा मात्र १६ रन खर्चिएर ६ विकेट लिए । यसैगरी सागर ढकालले दुई र करण केसीले एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले ४७ ओभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४०, सागर ढकालले २२, दिलिप नाथले १० र अमित श्रेष्ठले १८ रन बनाए ।
सुदूरपश्चिमका लागि सूर्य श्रेष्ठले चार, भोजराज भट्टले तीन, शेर मल्लले दुई र हेमन्त धामीले एक विकेट लिए ।