काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक खेल तालिकाअनुसार प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता बुधबारबाट हुने भएको छ ।
माघ २७ सम्म चल्ने प्रतियोगिता मुलपानी क्रिकेट रंगशालाको माथिल्लो मैदानमा हुने काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दीवाकर घलेले जानकारी गराएका छन् । काठमाडौं जिल्ला छनोट देशकै सबैभन्दा ठूलो छनोट प्रतियोगिता हुने र यसबाट राष्ट्रिय खेलाडी बन्नका लागि ढोका खुल्ने विश्वास काठमाडौं जिल्ला क्रिकेट संघले लिएको छ ।
प्रतियोगितामा १४ वटा क्लब र एकेडेमीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । नाम दर्ता गराउने क्लब र एकेडेमीलाई प्राथमिकतामा राखेर सहभागी गराएको बताइएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । दुई समूहमा चार टोली र बाँकी दुई समूहमा तीन टोली छन् ।
समूह ‘ए’ मा महाबीर स्टडीज एण्ड एथ्लेटिक्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी, थर्ड आई युथ क्लब र पुष्पलाल स्पोट्र्स क्लब छन् भने समूह ‘बी’ मा ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी (ए), एन्जल्स स्पोट्र्स एकेडेमी र बालुवाटार क्रिकेट क्लब छन् । यसैगरी समूह ‘सी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, हिमालयन क्रिकेट एकेडेमी (बी) र वान डे क्रिकेट एकेडेमी तथा समूह ‘डी’ मा न्यु भिजन क्लब, नेक्सेस क्रिकेट एकेडेमी र फरएभर क्रिकेट ब्वाइज क्लब रहेको आयोजकले जानकारी गरायो ।
प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार, उत्कृष्ट बलर र ब्याटरले पाँच हजारका दरले तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउने बताइएको छ । यसैगरी उदीयमान खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगितालाई कृषि बिकास बैंकले मुख्य प्रायोजक तथा कागेश्वरी मनोहरा नगरपालिका, सक्कल एग्रो फार्म, फ्रान्कलिन एजुकेशन कन्सल्टेन्सी, गोकर्णेश्वर नगरपालिका, नेवा बेभरेज प्रालि, एभरेस्ट बैंक, आविष्कार ज्वेलर्स, शुशील कोइराला फाउन्डेसन, नेप्लाई, नेक्सस एजुकेशन कन्सल्टेन्सी, श्रेष्ठ टेलरिङ, इको प्यानल र आइसीएफसी फाइनान्स लगायतले प्रायोजकका रूपमा सघाउने भएका छन् ।