काठमाडौं । बाहिरबाट हेर्दा धनी खेलाडीको जीवनमा जति सुखसयल देखिन्छ, त्यो त्यस्तै हुनु पर्छ भन्ने पनि हुन्न ।
सबैलाई थाहा छ, भारतीय क्रिकेट खेलाडीहरू कमाउने मामिलामा असाध्यै अगाडि छन्, चाहे ती पूर्व खेलाडी नै किन नहोस । तर भारतीय मिडियालाई मान्ने हो भने ती सबै क्रिकेट खेलाडी उत्तिकै खुसी पनि छैनन् ।
त्यसैले त सायद पछिल्लो समय एकपछि अर्को त्यस्तो समाचार आइरहेको छ, जसले भन्छ, क्रिकेट खेलाडीको वैवाहिक जीवन टुट्दैछ । यसमै थपिएका छन्, भारतीय क्रिकेटकै पुराना लेजेन्डरी खेलाडी वीरेन्द्र सहवाग ।
भारतीय मिडिया भन्छ, सहवागले आफ्नी पत्नी आरतीसँग पारपाचुके लिइसकेका छन्, खालि बाहिर नआएको मात्रै हो ।
यसको एउटा प्रमाण हो, दुवैले एकआपसलाई सामाजिक सञ्जालमा पछ्याउन छाडेका छन् । उनीहरूको सम्बन्ध २० वर्ष पुरानो थियो, अझ त्यो प्रेम विवाह नै थियो ।
त्यति मात्र नभएर उनीहरू टाढाबाट नातेदार पनि थिए । जति बेला उनीहरू नजिक थिए, खुबै सँग सँगै देखिन्थे । धेरै नै सुहाउँदो जोडी देखिन्थ्यो ।
तर अहिले लामै समयदेखि उनीहरू सँगै देखिएका छैनन्, चाडपर्वको बेला पनि । सहवागले अहिलेसम्म यसबारे केही बोलेका छैनन्, न त आरतीले नै ।
भारतीय मिडियालाई नै आधार मान्ने हो भने पछिल्लो समय त्यहाँका ठूला सेलेब्रेटीहरूबीच सम्बन्ध विच्छेदको घटना धेरै हुन थालेका छन् र यो खालि संयोग मात्रै नहुन सक्छ ।