काठमाडौं । भारतको लखनउ विश्वविद्यालयविरुद्ध ५८ रनको सहज जित निकाल्दै नेपालको मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कपको च्याम्पियन बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार मध्यपश्चिमले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सक्यो ।
लाखनउका लागि मनन कन्डपालले ५७ बलमा ५ चौका र २ छक्काको मदद्तले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी हर्षबर्दधन सिंहले १५ र यशबर्दधन सिंहले १४ रन बनाए ।
मध्यपश्चिमका लागि दिवान पुनले ३, राजकुमार शाहले दुई तथा दीनेश अधिकारी, सुवास भण्डारी र रविन्द्रजंग शाहीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।
मध्यपश्चिमका लागि विपिन खत्रीले २८ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ५९ रनको योगदान गरे । यसैगरी दिवान पुनले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ५८, निश्चल रावलले १९ र राजकुमार शाहले १५ रन बनाए ।
लखनउका लागि अभिषेक सोनी, मनन कन्डपाल र हर्षबर्दधन सिंहले समान एक विकेट लिए ।
उपाधिसँगै मध्यपश्चिमले १५ लाख रुपैयाँ प्राप्त गर्यो । यसैगरी उपविजेता लखनउले १० लाख रुपैयाँ हात पार्यो ।