काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान रेनुका नगरकोटीले अस्ट्रेलियाको भिषा त्यागेर नेपालमै बसेको खुलासा गरेकी छिन् ।
बुधबार दशरथ रंगशालामा महिला लिगको उपाधि जितेपछि खेलाडी डटकमसँग बोल्दै रेनुकाले अस्ट्रेलियाको भिषा आएपनि देश र फुटबल छाड्न नसकेको बताइन् ।
‘फुटबल खेलेको १७ वर्ष भइसक्यो । त्यसैले फुटबलको माया चट्ट मारेर अस्ट्रेलिया जान सकिन । भिषा पनि आईसकेको थियो । मलाई नेपालमा राखेको नै फुटबलले हो ।’
रेनुका नेपाली टोलीको नियमित खेलाडी हुन् । तर, पछिल्लो दुई वर्षमा दुई पटक घाइते भएपछि उनको कप्तान ‘आर्म ब्यान्ड’ जिम्मेवारी गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले पाइन् ।
पछिल्लो समय रेनुका पहिलो एघारमा स्थान बनाउन संघर्ष गरिरहेकी छिन् । दुई पटक घाइते भएपछि रेनुकाले अस्ट्रेलिया नै जाने सोच नबनाएकी हैनन् । भिषा पनि आयो । तर, उनीसहित केही खेलाडी नेपाल नै बसेका छन् । केही महिला खेलाडी भने अस्ट्रेलिया पुगिसके ।
‘साफ च्याम्पियनसिप र १९औं एसियन गेम्सपछि घाइते भएकी थिए । त्यसपछि अस्ट्रेलिया जान चाहन्थे । तर, देश र फुटबलको मायाले यही राख्यो,’ रेनुकाले भनिन्, ‘मैदान फर्कनेमा शंका पनि थियो । तर, राम्रो कमब्याक गर्न सफल भएको छु ।’
अखिल नेपाल फुटबल संघ (एन्फा)ले फरक फर्म्याटमा आयोजना गरेको लिगमा अपराजित रहँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब च्याम्पियन भयो । दशरथ रंगशालामा भएको फाइनल खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–० ले हराएको हो ।
लिगमा एपिएफ २०६८ सालयता अपराजित छ । पछिल्लो पटक ०७९ सालमा धनगढीमा भएको नकआउट फुटबलमा भने एपिएफ पुलिससँगै फाइनलमा पराजित भएको थियो । त्यसयता एपिएफलाई कुनै पनि टिमले हराउन सकेको छैन । ‘फाइनलमा जित्नै पर्ने दबाब थियो । टिम भावना देखाएर जित्न सफल भयौं । यो जित निकाल्दा एपिएफ टिम, घर परिवार सबैजना खुसी छौं ।’
रौतहटबाट नेपाली फुटबलमा उदाएकी रेनुकाले उमेर समूह हुँदै राष्ट्रिय टिमकै कप्तानको आर्म ब्यान्ड लगाइसकेकी छिन् । यसको श्रेष्ठ भने उनी गुरु शेरबहादुर दर्लामीलाई दिन्छिन् । ‘मलाई यहाँसम्म ल्याउन शेरबहादुर गुरुको ठूलो भूमिका छ । जति नाम कमाएको छु । यसको श्रेय गुरुलाई नै जान्छ ।’