काठमाडौं । घरेलु टोली नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा बिहीबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह १२ः१५ मा सुरु हुनेछ । नेपाल र नेदरल्यान्ड्स पहिलो पटक आमने सामने हुँदैछन् ।
आइसिसी ट्वान्टी-२० वरीयतामा नेपालभन्दा नेदरल्यान्ड्स अगाडि छ । नेपाल २० र नेदरल्यान्ड १६औं स्थानमा छन् ।
नेपालकी कप्तान इन्दु बर्मा ट्रफी घरमै राख्ने लक्ष्यमा रहेको बताउँछिन् । ‘हामी घरेलु मैदानमै त्रिकोणात्म शृंखला खेल्दैछौं । विपक्षी बलिया भए पनि आफ्नोतर्फबाट शतप्रतिश दिने छौं । ट्रफी घरमै राख्ने प्रयास हुनेछ,’ कप्तान इन्दुले भनिन् ।
शृंखलामा यी दुईसहित थाइल्यान्ड पनि सहभागी छ । नेपालले दोस्रो पटक घरेलु मैदानमा शृंखला खेल्दैछ ।
यसअघि नेपालल युगान्डसँग ५ खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । यो शृंखला नेपालले ३ २ ले गुमाएको थियो ।
शृंखलाका लागि भर्खरै आइसिसी महिल यु १९ विश्वकप खेलेर फर्किएका पूजा महतो र अलिशाकुमारी यादवलाई समेट्दै १५ सदस्यीय नेपाल टोली तयार पारिएको छ ।
नेपाली टोली
इन्दु बर्मा(कप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, पूजा महतो, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव