काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले नेपाली सिनेजगतका चर्चित अभिनेता दयाहाङ राईलाई ब्रान्ड एम्बेसेडर बनाएको छ ।
विराटनगरले आइतबार एक कार्यक्रमकाबीच दयाहाङलाई ‘ब्रान्ड एम्बासडर’का रुपमा सार्वजनिक गरेको हो । सम्झौता पत्रमा विराटनगरका मालिक बैंकटेश र दयाहाङले हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षका लागि हुने छ । सम्झौता रकम भने खुलाइएको छैन ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगातायको उपस्थिति थियो ।
विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । यसैगरी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको टोलीले आयरल्यान्डका केविन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।