काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानाडा र अमेरिका भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधीकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
अमेरिका र क्यानडामा रहँदा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ का दुई वटा त्रिकोणात्मक एकदिवसीय शृंखला एक त्रिकोणात्मक ट्वान्टी-२० शृंखला तथा अमेरिकासँग तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो ।
भदौ २५ गते क्यानाडा गएको नेपालले त्यहाँ ओमान र घरेलु टोलीसँग लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखला खेलेको थियो । त्यहाँ नेपाल तीन खेलमा पराजित हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो ।
त्यसपछि भएको त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा नेपालले समान दुई जित र हारको नतिजा निकाल्यो ।
क्यानाडा भ्रमण सकाएर नेपाल अमेरिका गएको थियो । त्यहाँ नेपालले अमेरिकाकाविरुद्ध तीन खेलको ट्वान्टी-२० शृंखलामा ‘क्लिन स्विप’ गरेको थियो ।
त्यसपछि घरेलु टोली अमेरिका र स्कटल्यान्डसँग भएको लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक शृंखलामा नेपालले दुई खेलमा पराजय ब्यहोर्दा एक जित निकाल्यो । एक खेल भने रद्द भएको थियो ।