विराटनगर । लुम्बिनी प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा बिहीबार लुम्बिनीले बागमती प्रदेशविरुद्ध १०२ रनको सानदार जित निकाल्यो ।
जितसँगै लुम्बिनीले चार खेलमा आठ अंक जोडेको छ । पराजित बागमतीको समान खेलबाट दुई अंक छ ।
लुम्बिनीले प्रस्तुत गरेको २७९ रनको लक्ष्य पछ्याएको बागमतीले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो ।
बागमतीका लागि रोशन विश्वकर्माले ६६ बलमा सात चौका र तीन छक्काको मद्दतले अविजित ७३ रनको योगदान गरे । यसैगरी सूयान्शु कोइरालाले ३२, राजेश बोहराले २१, नितेश कुँवरले १३ र रिन्जिन लामाले ११ रन बनाए ।
लुम्बिनीका लागि कप्तान आकाश त्रिपाठी र सन्तोष यादवले समान तीन तथा महेश बहर र रमेश कुर्मीले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७८ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले ९८ बलमा ११ चौका र एक छक्काको मद्दते सर्वाधिक ७७ रनको योगदान गरे । सन्तोष यादवले ६१ बलमा सात चौका र एक छक्काको मद्दतले ६४ रन बनाए ।
यसैगरी दिलसद अलीले ३६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५४, सिराज बाग्वानले २१, द्रास सोनारले १६, नर सार्कीले १५ र विजय खोहरले ११ रन बनाए ।
आकाशले दोस्रो विकेटका लागि सन्तोषसँग ११७ तथा पहिलो विकेटका लागि सिराजसँग ५४ रनको साझेदारी गरे । यसैगरी छैटौं विकेटका लागि दिलसद र नरबीच ५१ रनको साझेदारी भयो ।
बागमतीका लागि दयानन्द मण्डल र दिनेश बिष्टले समान दुई तथा दीपक सिराल र रोशन विश्वकर्माले समान एक विकेट लिए ।