पोखरा । शुक्रबार हुन लागेको पोखरा बक्सिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।
पोखरा रंगशालास्थित बक्सिङ रिङमा हुने प्रतियोगितामा ३० बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा १२ महिला तथा १८ पुरुष रहेको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
पोखरामा पहिलो पटक हुन लागेको भर्सेस फाइटयुक्त राष्ट्रिय च्याम्पियनसिपमा पुरुषतर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८० र ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ, प्रमाणपत्र र पदक प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट बक्सर महिला तथा पुरुषले जनही ५ हजार रुपैयाँ पाउने छन् ।
पोखरामा २०६४ सालपछि (नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक ) हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताले यसको क्रेजलाई माथि उठाउन सघाउ पुग्ने प्रदेश बक्सिङ संघ गण्डकीका अध्यक्ष विद्या प्रसाद मर्सानीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च लाग्ने अयोजकको अनुमान छ ।