काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस प्रिन्सिपल सानी महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने ज्ञान संस्कारकी प्रशासन प्रमुख लालिमा मालाकारले जानकारी दिइन् । विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, सर्वाधिक स्कोरकर्ता र उत्कृष्ट ‘थ्री प्वाइन्टर’ लाई ट्रफीसहित पुरस्कृत गरिने छ भने अनुशासित टिम पनि पुरस्कृत हुनेछ ।
ज्ञान संस्कारका शिक्षक पुरुषोत्तम घिमिरेले प्रतियोगिताले विद्यालयस्तरका बास्केटबल खेल प्रेमी माझ विशेष उत्साह जगाउने विश्वास व्यक्त गरे । माघ २६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजकको कोर्टमा खेलाइने छ ।
