काठमाडौं। १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सिनियर गर्ल्समा भ्याली पब्लिकले ह्याट्रिक जित निकालेको छ ।
भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३१-२४, केभीकेएसएसलाई ४०-२० र फेरिल्यान्डलाई २५-१८ ले पराजित गर्यो । भ्याली पब्लिकका लागि बिएनएविरुद्ध एन्जल गुप्ताले १०, केभीकेएसएस र फेरिल्यान्डविरुद्ध लोरिशा गौचनले समान १७-१७ अंक बटुले ।
यसैगरी सिनियर गर्ल्सतर्फ नै धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलमा तेजस्वीले आदित्यलाई ६-२ ले पराजित गर्यो । तेजस्वीको जितमा एस्थर बरुवालले चार अंक योगदान गरिन् । अन्जली शाहीको १० अंकको सहयोगमा टिआइएले सत्य साइलाई १६-७ ले हरायो ।
जुनियर ब्वाइजमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ९-५ ले हरायाे । सबै स्कोर न्युटनका आशिष राईको नाममा रह्यो । सोही स्पर्धाको अन्य खेलमा लालीगुराँसले आयोजक ग्रिनल्यान्डलाई ११-१०, भ्याली पब्लिकले तेजस्वीलाई ४६-३८ र किङडमले टिआइएलाई ४३-३४ ले पराजित गरे । लालीगुराँसका सर्गम गुरुङले चार, भ्याली पब्लिकका अशोक विकले १६ र किङडमका जिग्मे लामाले ११ अंक जोडे ।
सिनियर ब्वाइजमा जिनियस वर्ल्डले सारथीलाई ४०-२८ तथा भ्याली पब्लिकले डिबीएलाई ५१-३९ ले हराए । जिनियसका प्रदीप तामाङले १२ तथा भ्याली पब्लिकका सुनिल पौडेलले २१ स्कोर गरे ।
प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका सह-प्राचार्य विनोद घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे । जुनियर ब्वाइजमा २४, सियिनर गर्ल्समा १६ र सिनियर ब्वाइजमा २४ गरी ६४ टिमको सहभागिता रहेको छ । फाइनल भदौ ११ गते हुनेछ ।