पोखरा। यु-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटको प्रतिस्पर्धा बुधबारबाट सुरु भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशले दोहोरो जित निकालेको छ ।
पोखरा रंगशालामा भएको छात्रातर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई २३-६ले पराजित गर्यो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्काेर जोडिन् ।
छात्रातर्फ नै कर्णाली प्रदेशले मधेश प्रदेशविरुद्ध १९-४ को जित निकाल्यो । कर्णालीको जितमा सृजना बडुवालले १५ स्कोरको योगदान दिइन् ।
यसैगरी छात्रतर्फ पनि गण्डकीले जित हासिल गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई ४५-२७ ले पराजित गर्यो । गण्डकीका लागि सौभाग्य पुनले १९ स्कोर जाेडे।
छात्रतर्फ नै प्रिन्स कुसुवाको १८ स्कोरको मद्दतमा मधेशले कर्णालीलाई ३१-२९ ले हरायो ।
लिग चरणका खेलहरु पोखरा रंगशाला तथा पोखरा रामघाटस्थित पुन समाज पोखराको बास्केटबल कोर्टमा भइरहेका छन् । प्रतियोगितामा छात्रातर्फ सुदूरपश्चिमबाहेक ६ र छात्रतर्फ ७ प्रदेशको सहभागिता छ ।
बिहान ७ः०० बजे देखि हुने भनिए पनि प्राविधिक कारण वश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।