काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिक प्रथम न्युटन एइइ कप ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्सतर्फ पहिलो स्थानमा रहे ।
बालुवाटारस्थित आयोजक न्युटन हाइ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा ग्रिनल्यान्डले हुपर्सलाई १८-१२ ले पराजित गर्यो । ग्रिनल्यान्डका सुरेश बिसीले आठ अंक जोडे ।
गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १८-१६ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले सात स्कोर गरिन् ।
दुवैतर्फका विजेता १० हजार र उपविजेताले पाँच हजार रुपैयाँ हात पारे । उपाधि विजेता र उपविजेता टोलीका खेलाडीले न्युटनमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पनि पाए ।
यसैगरी उपाधि विजेता बाहेक नकआउट चरणमा पुग्ने र सहभागी टोलीका हरेक खेलाडीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ ।
फाइनलका सर्वाधिक स्कोरकर्ता सुरेश र एन्जल आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र टोखा नगर प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंले पुरस्कृत गरे ।
दुई दिने प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गर्ल्सतर्फ १६ गरि ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।