काठमाडौं, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका राजन रोकाया र नेपाली एथ्लेटिक्सकी गोल्डेन गर्ल धादिङकी सन्तोषी श्रेष्ठले शनिबार दोसे गरिमा रोडरेसको १० किलोमिटर दौडको उपाधि जितेका छन् ।
दक्षिण एसियाली खेलकुद (साग) स्वर्णधारी ओलम्पियन सन्तोषीले ३४ मिनेट ५४.४ सेकेन्डमा निर्धारित दुरी तय गर्दै उपाधि रक्षा गरिन । ३५ मिनेट १५.३ सेकेन्डको टाइमिङका साथ आर्मीकी निशा मजाकोटी दोश्रो तथा ३६ मिनेट २१.३ सेकेन्डमा दुरी तय गरेकी आर्मीकै सिर्जना पाण्डेय तेश्रो भए ।
पुरुषतर्फ राजनले २९ मिनेट १२.१२ सेकेन्डमा दुरी पूरा गर्दै उपाधिमा कव्जा जमाउँदा साविक विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्डको टाइमिङका साथ दोश्रो भए । आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरेर तेस्रो स्थान हासिल गरे ।
महिला तथा पुरुष दुवैतर्फ विजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो हुनेले ३५ हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरे ।
गरिमा विकास बैंक लिमिटेडको आयोजनामा सम्पन्न प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोश्रो र रेवतबहादुर दाहाल तेश्रो भए ।
भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जनले उपाधि जित्दा महेश्वरी थापा रायमाझी दोस्रो तथा सावित्रा भण्डारी भए ।
भेट्रानतर्फ महिला पुरुष दुवैतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १४ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा १ हजार ४ सयको सहभागिता रहेको रेस डाइरेक्टर राजन खत्रीलाई उद्यृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
