काठमाडौं । वेस्ट इण्डिज अपराजित रहँदै भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको सुपर आठमा पुगेको छ । बिहीबार सम्पन्न समूह सी को अन्तिम समूह चरणको खेलमा इटलीलाई ४२ रनले पराजित गर्याे ।
समूह चरणको चारै खेलमा वेस्ट इण्डिज अपराजित रह्यो । पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदै यात्राको सुरुवात गरेको वेस्ट इण्डिजले त्यसपछि इङ्ल्याण्ड र नेपाललाई पराजित गरेको थियो ।
इटलीविरुद्ध सुरुवातमा ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि कप्तान शाई होपले ४६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । रोस्टन चेस र शेरफन रादरफोर्डले समान २४ रन बनायँदा म्याथ्यु फोर्ड १६ रनमा नट आउट रहे ।
इटलीका लागि क्रिसन कालुङ्मागे र बेन मेनिन्तीले समान २ तथा अलि हसन र थोमस ड्राकाले समान १ विकेट लिए । वेस्ट इण्डिजले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको इटलीले १८ ओभरमा १ सय २३ रन बनाउँदा सबै विकेट गुमायो । इटलीका लागि बेन मेनिन्तीले सर्वाधिक २६ रन बनाउँदा जेजे स्मिट २४ रनमा आउट भए ।
वेस्ट इण्डिजका लागि शेमार जोसेफले ४, म्याथ्यु फोर्डले ३, गुणकेश मोटीले २ तथा अकिल हुसेनले १ विकेट लिए ।
