पाटन । खुला ५ किलोमिटर दौडको पुरुषतर्फ मुकेशबहादुर पाल र महिलातर्फ पुर्णलक्ष्मी न्यौपाने च्याम्पियन बनेका छन् ।
विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार रोटरी क्लब अफे यल, पाटनद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट १२.७५ सेकेन्डमा पूरा गरे ।
१५ मिनेट १५.०२ सेकेन्डको समय निकाल्दै सञ्जय श्रेष्ठ दोश्रो तथा १५ मिनेट ३०.८७ सेकेन्डका साथ सञ्जिव नेपाली तेश्रो भए ।
रत्नबहादुर खत्री चौथो, मिङमारसिंह तामाङ पाँचौं, धीरबहादुर बुढा छैटौं, सागर बुढाथोकी सातौं, सञ्जय राई आठौं, रणबहादुर रोका मगर नवौं र कर्णबहादुर रोकामगर १०औं स्थानमा रहे । सञ्जिव एपिएफ र मिङमार सिन्धुपाल्चोक तथा बाँकी नेपाल आर्मीका हुन् ।
एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्डका साथ दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्डको समय निकाल्दै तेश्रो भए। तीनै खेलाडी आर्मीका हुन् ।
नेपाल प्रहरीकी सुमित्रा चौधरी, एपिएफकी आशा रावत, सोलुखुम्बुकी सुशान्त कार्की, स्वयम्भूकी सोनु घटानी, निला जिमी, ललितपुरकी मन्जु सुनुवार र सुन्दरीजलकी सम्झना राईले क्रमशः चौथोदेखि १०औं स्थानमा रहेर दौड टुंगाए ।
पुरुष/महिला दुवैमा शीर्ष चारमा रहनेले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी पाँचौंदेखि १०औं स्थान हासिल गर्नेलाई प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ प्रदान गरियो ।
दौडको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले संयुक्तरुपमा गरेका थिए ।
पाटन दरबार स्क्वायरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको दौडमा पुरुषतर्फ २१० तथा महिलातर्फ ४० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।
प्रतियोगितामा केही विदेशी खेलाडीले पनि सहभागिता जनाएका थिए ।