काठमाडौं । सन्तोषी श्रेष्ठ र निर्मला केसीले पिंक केयराथनको उपाधि जितेका छन् । सन्तोषीले २१.१ किलोमिटर हाफ म्याराथन र निर्मलाले १० किलोमिटर दौड जितेकी हुन् ।
धादिङकी सन्तोषीले १ घन्टा २१ मिनेट ११ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । जावलाखेल फुटबल मैदानबाट सुरु भएको दौड पुल्चोक हरिहरभवन, बखुन्डोल, झम्सिखेल, धोविघाट, बल्खु, कलंकी बजार पुगेर फर्किएर एकान्तकुनमा हुदैं जावलाखेल मैदानमै पुगेर सकिएको थियो ।
राज्यलक्ष्मीले १ घन्टा २८ मिनेट १ सेकेन्डमा पुरा गरि दोस्रो र त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराई १ घन्टा २९ मिनेट ५९ सेकेन्डका साथ तेस्रो, नेपाल एपीएफ क्लबकी सुशीला महत १ घन्टा ३१ मिनेट ०२ सेकेन्डका साथ चौथो र गोर्खाकी गीता नेपाली १ घन्टा ५१ मिनेट ५४ सेकेन्डका साथ पाँचौं भइन् ।
महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले लेजरपोर्ट नेपालद्वारा आयोजित पिंक केयराथनको हाफ म्याराथनतर्फ शीर्ष तीनलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । १० किलोमिटर दौडतर्फ आर्मीकी निर्मला बाहेक एपीएफकी आशा राउत दोस्रो र पुलिसकी सुमित्रा चौधरी तेस्रो भइन् । निर्मलाले ४० मिनेट ०८ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।
आशाले ४० मिनेट २७ सेकेन्डमा र सुमित्राले ४१ मिनेट ५० सेकेन्डमा पुरा गरेकी थिइन् । वर्षा थुमा ५४ मिनेट ४६ सेकेन्डका साथ चौथो, इन्द्रमाया पाख्रिन ५७ मिनेट २४ सेकेन्डका साथ पाँचौं र सितु लामा ५८.५६ सेकेन्डका साथ छैटौं भइन् । १० किलोमिटरका शीर्ष तीन धावनकलाई क्रमशः ३१, २१ र ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै फन रनको रुपमा रहेको ५ किलोमिटरमा तिलुमाया सुनुवार, रेश्माकुमारी रावल, सिता रिमाल तथा ३ किलोमिटरमा सुप्रिता थापा, गायत्री श्रेष्ठ र सांग्रीला श्रेष्ठ क्रमशः पहिलो देखि तेस्रो भए । ५ र ३ किलोमिटर फन रनतर्फ उत्कृष्ट १०-१० जनालाई आकर्षक उपहार प्रदान गरिएको आयोजकले जनाएको छ ।
लेजरपोर्टका अध्यक्ष नमराज जोशीका अनुसार झन्डै १ हजार ५ सय खेलाडी सहभागि भएका थिए । उनीहरुलाई खेल अघि जुम्बा गराइएको थियो । कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए । २०१७ देखि काठमाडौं पिंकाथनको नामबाट दौड सुरु गरेको प्रतियोगिताको यो छैटौं संस्करण हो ।
