काठमाडौं । गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्सको ८०० मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् ।
बादल छात्र तथा सरिता छात्रामा पहिलो भए । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । यसअघि मंगलबार दुवैले ४०० मटर दौडमा पनि स्वर्ण जितेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चिए । सुदूरपश्चिम प्रदेशका विक्रम विष्टले रजत तथा कर्णाली प्रदेशका प्रकाश बुढा कांस्य पदक जिते ।
सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्सालले रजत तथा लुम्बिनी प्रदेशकी अनिशा थारु कांस्य पदक हात पारे ।
ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेलले स्वर्ण चुमे । उनले ५२.१६ मिटर टाढा फाले । लुम्बिनीका राहुल थारुले रजत तथा रवि चौधरीले कांस्य पदक प्राप्त गरे ।
सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण जितिन् । सरिताले ३१.५४ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिब्याकला थारुले कांस्य पदक हात पारे ।
छात्र लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दैै स्वर्ण हात पारे । सुदूरपश्चिमका सन्नी चौधरीले रजत तथा आशिष महरले कांस्य पदक जिते । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतोले ४.९५ मिटर जम्प गर्दै स्वर्ण चुमिन्। गण्डकीकी निशा घर्तीले रजत तथा सुदूरपश्चिमकी रेनुका ऐरले कांस्य पदक प्राप्त गरे ।
छात्र÷छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमतीबागमतीले स्वर्ण जित्यो । छात्रमा मधेश प्रदेशले रजत तथा सुदूरपश्चिम कांस्य पदक पाए । छात्रामा गण्डकी रजत तथा सुदूरपश्चिम कांस्य पदक जिते ।