काठमाडौंं । महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले यही बैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।
लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसंगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम हुनेछ ।
यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दौड समावेश गरिएको छ । जुनसुकै उमेर समुहका महिलाहरुले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताइन् ।
आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तिन हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको छ ।
महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जिवनशैली अपनाउन प्रोत्साहित गर्ने बताए ।
‘काठमाडौं पिंक केयरएथन’को यस संस्करण भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले संचालन गर्नेछन् । सहभागी हुन चाहने महिलाले इसेवाबाट नाम दर्ता गर्न सक्छन् । पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारी अनुसार तोकिएका स्थानमा गएर भौतिक रुपमा पनि नाम दर्ता गर्न सकिनेछ ।
यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरि काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो ।
यसअघि लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष भव्यरुपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।