पोखरा । ‘ड्रागन बोट रेस’ प्रतियोगिता पोखराको बेगनास तालमा सोमबार सम्पन्न भएको छ।
प्रतियोगिताको पुरुष तर्फको ५०० मिटर डुंगा दौडमा वाटर स्पोर्टस नेपाल पहिलो भएको छ। यसैगरी नारा पोखरा दोस्रो र नेपाली सेना तेस्रो भए ।
सोही स्पर्धाको महिलातर्फ बेगनास ताल डुंगा व्यवसायी समितिले शीर्ष स्थान हासिल गर्दा बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जलरी दिदीबहिनी समूह फेवा तेस्रो स्थानमा रहे ।
त्यसैगरी २०० मिटर ड्रागन डुंगा दौडमा पुरुषतर्फ नारा पोखरा प्रथम, वाटर स्पोर्टस नेपाल दोस्रो र फेवा मत्स्य व्यवसायी संघ तेस्रो भए।
महिलातर्फ बेगनास ताल डुंगा व्यवसायी समितिले पहिलो, बेगनास ताल मत्स्य व्यवसायी संघले दोस्रो र जालरी दिदीबहिनी समूह फेवाले तेस्रो स्थान हासिल गरे ।
पाँच सय मिटरका विजेताले दुई लाख तथा २०० मिटर तर्फको विजेताले एक लाख रुपैयाँ प्राप्त गरेका छन्।
५०० र २०० मिटर गरी दुई इभेन्ट समावेश प्रतियोगितामा तीन महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता थियो।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन संघ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो।