काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कप फाइनलमा आफुहरुले सतप्रतिसत दिएर उपाधी जित्ने बताएकी छिन् ।
बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सोमबार नेपाली महिला टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
सहिद सुरावर्दी कर्भडहलमा हुने दिनको दोस्रो खेल दिउँसो ११ः१५ मा हुनेछ ।
फाइनलको यात्रामा रहेको नेपालले आइतबार प्रतियोगितामा अपराजित उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।
दिन प्रति दिन टोलीको प्रदर्शनमा सुधार भइरहेको र फाइनलमा आफुहरुले सतप्रतिसत दिनेमा अरुणा विश्वस्त छिन् ।
’दिनप्रतिदिन हाम्रो प्रदर्शन राम्रो भइरहेको छ । सुधार भइरहेका छन् । फाइनलमा योभन्दा पनि बढी गर्नुपर्छ । प्रतिस्पर्धी टोली राम्रा छन् , ’ उनले खेलाडीसँगको कुराकानीमा भनिन् ।
साविक विजेता नेपाल प्रतियोगितामा अपराजित रहँदै ११अंकका साथ शीर्ष स्थानमा छ ।
यस्तै समान चार खेलमा श्रीलंका १० अंकका साथ दोस्रो र नौ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ । किर्गिस्तानले भने ३ अंक मात्र छ ।