काठमाडौं । नेपाल पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिससँग खेल्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ ।
काभाले शनिबार निकालेको तालिका अनुसार यो खेल सेप्टेम्बर १५ मा हुनेछ ।
यसैगरी सेप्टेम्बर १६ मा श्रीलंका एयर फोर्स, १७ मा ताजकिस्तानको भिसी डाइमेड, १९ मा माल्दिभ्सको क्लब वाम्को र २० मा माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ ।
लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आठौं एनभिए लिग विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । पुलिसले एभरेस्ट भलिबल क्लबलाई गर्दै उपाधि जितेको थियो।
पुलिसले यो प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको ।
रुपेश विष्ट प्रशिक्षक रहेको पुलिसले कमला पुनलाई कप्तान बनाएको छ ।
प्रतियोगिता सेप्टेम्बर १५ देखि २१ सम्म माल्दिभ्समा हुँदैछ ।
पुलिसको टोली
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, कोपिला राना, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, सरस्वती कट्टेल, लक्ष्मी चन्द