काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै मदन भण्डारी गोल्डकप इन्डाे-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।
बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा सोमबार सम्पन्न विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबविरुद्ध ३-१ सेटको जित निकाल्यो ।
जितसँगै समूह ‘बी’ को आर्मीले तीन खेलमा ९ अंक जोड्यो । आर्मीले यसअघि गुजरात स्टेट भलिबल एसोसिएसन र गल्कोट भलिबल क्लबलाई हराएको थियो ।
दोस्रो हारसँगै एपिएफ दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । यसअघि गल्कोटलाई हराएको एपिएफले गुजरातसँग पराजय बेहोरेको थियो ।
आर्मीको जितसँगै गुजरातले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सुरुआती दुई सेट २५-१७, २५-२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट भने १९-२५ ले गुमायो ।
चौथो सेट २५-१५ ले आफ्नो पक्षमा पार्दै आर्मीले समूह चरणमा शतप्रतिश जित दर्ता गर्यो ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएकाे छ । सेमिफाइनलमा आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा गुजरात र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् ।