पोखरा । लामाचौर कप भलिबल प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब फाइनल प्रवेश गरेका छन् ।
नव आदर्श सामुदायिक समाज (नाकोड्स) को आयोजनमा भइरहेको प्रतियोगितामा महिलातर्फ बुधबारको पहिलो खेलमा न्यु डायमन्डले गण्डकी भलिबल संघलाई ३ ० को सोझो सेटमा पराजित गर्यो ।
पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा न्यु डायमन्डले खेल २५-१३, २५-१६, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै न्यु डायमन्डले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।
विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण करिब दुई घण्टा ढिलो सुरु भएको थियो ।
दोस्रो खेलमा एपिएफले एभरेस्ट भलिबललाई ३-० कै सोझो सेटमा हरायो । एपिएफले, २५-१०, २५-११, २५-१३ को जित निकाल्यो ।
जितसँगै एपिएफले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
दुवै खेलमा पराजित एभरेस्ट र गण्डकी अंकविहिन छन् । लिग चरणको अन्तिम खेलमा बिहीबार एभरेस्ट र गण्डकी तथा न्युड डायमन्ड र एपिएफ भिड्ने छन् ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले गलकोट स्पोर्टसलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
पुलिसले खेल २५-१२, २५-१७, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।
लगातार दोस्रो जितसँगै पुलिसले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा पुलिसले गण्डकीलाई ३-० को सेटमा पाजित गरेको थियो ।
लगातार दोस्रो पराजय ब्यहोरेको गलकोट अंकविहिन छ । पहिलो खेमला गलकोट एपिएफसँग ३-१ को सेटमा पराजित भएको थियो ।
गण्डकी र एपिएफबीच भइरहेको दिनको अन्तिम खेल दोस्रो सेट सकिँदा खराब प्रकाशका कारण खेल रोकिएको छ । पहिलो सेट गण्डकीले २५-२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९-२५ ले गुमाएको थियो ।