काठमाडौं । वात्सल्य नेचुरल आइभिएफले फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) को पहिलो संस्करणलाई मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ ।
सम्झौता पत्रमा वात्सल्यका प्रबन्धनिर्देशक प्रशान्त सुवेदी र आयोजक इन्फिनिटी ड्रिम्स प्रालिका सिइओ स्नेभी चापागाईँले हस्ताक्षर गरे ।
आयोजकका अनुसार प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिताका लागि आयोजकले यसअघि नै ६ टिमको घोषणा गरिसकेको छ ।
जसअनुसार मधेश युनाइटेड, टिम काठमाडौं, टिम चितवन, ललितपुर क्विन्स, टिम गण्डकी र टिम कर्णालीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
सहभागी सबै ६ टिमले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् । टिम गण्डकीले सरस्वती चौधरीलाई आफ्नो मार्की खेलाडीका रुपमा अनुबन्ध गर्दा काठमाडौंले उषा भण्डारी, मधेशले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी तथा चितवनले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ ।
प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टिमले तीन जनाका दरले विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । तर अहिलेसम्म मधेशबाहेक अरु टिमले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छैनन् । मधेशले काजकिस्तानकी स्पाइकर कालिनोभा यमजिनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ ।