काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता खेलाडीलाई नेपाल सरकारले नगद पुरस्कार प्रदान गरेको छ ।
प्रधामन्त्री केपी शर्मा ओलीले बिहीबार खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरे ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचीव टंकलाल घिसिङ, नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहतगायतको उपस्थिती थियो ।
साउन ३१ बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो ।
यस्तै प्रशिक्षकले २ लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयमार्फत पुरस्कारका लागि सिफारिस गरेको थियो ।
साउन १७ देखि २३ सम्म त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतसँग पराजित हुँदा नेपाल उपाधिबाट बञ्चित भएको थियो ।
प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सको सहभागिता थियो ।