काठमाडौं । फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा ट्युनिसियाकी योस्रा जेरामदिनीलाई भित्राएको छ ।
यो सँगै इडब्लुभिएलका लागि दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ ।
ट्युनिसियाकी मिडल ब्लकर योस्राले पहिलो फ्रेन्चाइज लिग खेल्दा टिम शसक्त हुने मधेशले विश्वास गरेको छ । ‘उनलाई मधेश युनाइटेडमा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । योस्राको आगमनले मधेश युनाइटेडको ब्लकिङ पोजिसन अझ शसक्त हुने विश्वास छ,’ क्लबले भनेको छ ।
ट्युनिसियाकी राष्ट्रिय खेलाडी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १८४ सेन्टिमिटर छ ।
योस्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै आफू एकदमै उत्साहित रहेको बताएकी छन् । ‘एभरेष्ट वुमन्स भलिबल लिगमा मधेश युनाइटेडबाट खेल्दैछु । लिगका लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु ।’
मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताइन् ।
नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
मार्कीसहित नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू २० महिला च्याम्पियनसिप खेलेका एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।