काठमाडौं । प्रधानमन्त्री केपी शर्माले अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउने आश्वासन दिएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार करिब दुई घन्टा महिला भलिबल टोलीसँग भेटघाट तथा छलफल गरेका थिए ।
भलिबलले हासिल गरेका उपलब्धी, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरू गर्नेछौं। आगामी खेल जित्छौं भन्ने तपाईहरूको मनोबल छ, त्यो कायम रहोस होस्,’ प्रधानमन्त्री ओलीले भने भने, ‘आफ्नोतर्फबाट उत्कृष्ट दिँदै जानुहोस् । सफलता पक्कै मिल्नेछ। सरकारले एउटा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउने छ । ’
भेटघाटमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाली राष्ट्रिय महिला टोलीका प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाहीलगायतको उपस्थिती थियो ।
प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी पनि गराएका थिए ।