सातदोबाटो । नेपाल टेनिस संघको आयोजनामा एटिएफ यु-१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।
पहिलो दिन नेपालको ब्वाइज/गर्ल्स दुवै टोली पराजित भए । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३-० ले पराजित गर्यो । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३-० ले हराए ।
यसैगरी गर्ल्समा बंगलादेशले नेपाललाई २-० तथा श्रीलंकाले माल्दिभ्सलाई ३-० ले पराजित गरे ।
प्रतियोगिताको उद्घाटन नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आइटिएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई बल हस्तान्तरण गरी गरिन् ।
ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी सात राष्ट्र सहभागी छन् । गर्ल्समा पाकिस्तान र भुटान बाहेक पाँच राष्ट्रको सहभागिता छ ।
नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन् । गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन् ।
नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
ब्वाइज÷गर्ल्समा फाइनल पुग्ने राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु-१२ टिम च्याम्पियनसिपका लागि छनोट हुनेछन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।