काठमाडौं । वाइसिएचका सक्षम शाक्यले पुष्पराज शाक्य स्मृति तेश्रो ट्राइ सिरिज टेबलटेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् ।
सक्षमले फाइनलमा आइएससीका स्वयंलाई ३-२ को सेटमा पराजित गरे । आइएससीका सुप्रिन्स महर्जन र खोल्छका उसान वज्राचार्य ले कांस्य पदक प्राप्त गरे ।
खोल्छ पुखु खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुला सिंगल्समा वाइसिएचका सन्जिल शाक्यले स्वर्ण, आइएससीका राजेन्द्र वज्राचार्यले रजत तथा आइएससीकै खोल्छका नदिमरत्न शाक्य र अशोक महर्जनले कांस्य पदक जिते ।
यसैगरी पुरुष डबल्समा वाइसिएचका सुमन शाक्य र सन्जिल शाक्यको जोडी पहिलो, खोल्छका नदिमरत्न शाक्य र समिप श्रेष्ठको जोडी दोश्रो, आइएससीका राजेन्द्र वज्राचार्य र मनीष खरेल तथा अशोक महर्जन र सुशिल वज्राचार्यको जोडी तेश्रो भए ।
पुरुष टिम इभेन्टमा वाइसिएच, आइएससी र खोल्छ क्रमशः शीर्ष तीनमा रहे ।
विजेतालाई ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले पुरस्कृत गरे ।