काठमाडौं । नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङले भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् । रायनले च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित गुरुङले र्कास्य पदक जितेका हुन् ।
रायनले आफ्नै नाममा रहेको २ मिनेट २२.१५ सेकेन्डको कीर्तिमान सुधार गर्दै २ मिनेट २१.१६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यस विधाको स्वर्ण र रजत भारतले हात पार्यो ।
तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २ मिनेट २९.२९ सेकेन्डको अर्को कीर्तिमान बनाए । यसअघि शिरीष गुरुङको नाममा २ मिनेट २९.८८ सेकेन्डको किर्तिमान थियो । शिरिषले उक्त किर्तिमान २०१२ मा काठमाडौंमा भएको दोश्रो एनएसए कपमा राखेका थिए ।
यस्तै तेन्जिनले सेरेन इरभिन श्रेस्ठ र सुभिज्ञ मान तुलाधरसँग मिलेर ४ गुणा १०० मिटर रिलेमा ३ मिनेट ४८.५७ सेकेन्डका साथ नयाँ कीर्तिमान राखे । यसअघि यो कीर्तिमान भारतको गोहाटीमा भएको १२औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङले ४ मिनेट ७.२८ सेकेन्डको रेकर्ड राखेका थिए ।
यसैगरी उनीहरुले ४ गुणा १०० मिटर मिड्ले रिलेमा पनि ४ मिनेट १.१० सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे । यसअघि यो कीर्तिमान ४ मिनेट ३१.३८ सेकेन्डसहित एलिश श्रेस्ठ, चित्र बहदुर गुरुङ, पुष्पराज शाही र तिलबाहादुर थापा मगरको नाममा थियो । उनीहरुले काठमाडौंंमा भएको आठौं साफ गेममा यो कीर्तिमान कायम गरेका थिए ।