काठमाडौं । भिनिसियस जुनियर चम्किएपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको मड्रिड डर्बीमा एट्लेटिकोलाई ३–२ ले हराएको छ ।
आइतबार राति सान्तियागो बर्नाबेउमा भएको खेलमा अग्रता भने एट्लेटिकोले बनाएको थियो । रियाल ७७औं मिनेटमा दश खेलाडीमा समेत पुग्यो । फेडेरिको भाल्भर्डेले रातो कार्डको सामना गरेका थिए । त्यसको फाइदा एट्लेटिकोले लिन सकेन ।
रियालको जितमा जुनियरले दुई तथा भाल्भर्डेले नै एक गोल गरेका थिए । जुनियरले ७२औं मिनेटमा विजयी गोल गरेका हुन् ।
एट्लेटिकोको लागि ३३औं मिनेटमा एडेमोला लुकम्यानले सुरुआती गोल गरेका थिए । माहुयल मोलिनाले ६६औं मिनेटमा २–२ को बराबरी गोल गरेका हुन् । तर, जुनियरले विजयी गोल गर्दै टिमलाई तीन अंक दिलाए ।
यो जितपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ । रियालको २९ खेलबाट ६९ अंक छ । बार्सिलोना ७३ अंकसहित शीर्ष स्थानमा छ । चौथो स्थानमा रहेको एट्लेटिकोको ५७ अंक छ । बराबरपछि उसले तेस्रो स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।
