काठमाडौं । स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा बुधबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
अजलले ५० मिटर बटरफ्लाइको हिट चरणमा २५.७७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् ।
अजलले सैयद हम्जा शाहले १३ औं दक्षिण एसियाली खेलकुदमा छोटो दुरी (२५ मिटर पुल) मा कायम गरेको २६.५६ सेकेन्डको कीर्तिमान तोडे ।
।
प्रतियोगिता सातदोवाटोस्थित २५ मिटर वातातानुकुलित पौडी पोखरीमा संचालन भएको हो । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा भने अजलले २५.९२ सेकेन्डका साथ स्वर्ण जिते । स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङले रजत र इरभिन श्रेष्ठले कांस्य पदक हात पारे ।
प्रतियोगिताको महिला २ सय मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्डका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कांस्य पदक प्राप्त गरिन् ।
पुरुषको १ सय मिटर बटरफ्लाइमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ००.५३ सेकेन्ड समय निकाल्दै स्वर्ण जिते । अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कांस्य पदक पाए ।
महिला ५० मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्डका साथ स्वर्ण जितिन् । यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पदक हात पारे ।
पुरुषको १ सय मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड मादुरी पुरा गर्दै स्वर्ण जिते । इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कांंस्य पदक प्राप्त गरे ।
महिला १ सय मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्डका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कांँस्य पदक हात पारे ।
महिला १ सय मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २०.१४ सेकेन्डका साथ स्वर्ण जितिन् । निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कांस्य पदक हासिल गरे ।
पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कांस्य पदक पाए ।
५० मिटर फ्रिस्टायलको महिलातर्फ टिसा महर्जनले २९.४५ सेकेन्डका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कांस्य पदक प्राप्त गरे ।
प्रतियोगितामा ५१ पदकका लागि १ सय ४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।